FAQs Complain Problems

News

भक्तपुर नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई रातो र निलो परिचय पत्र वितरण सुरू

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले शुक्रबारदेखि भक्तपुर नगरभित्रका अपांगता भएका व्यक्तिहरुलाई (रातो र निलो रंग परिचय–पत्र वितरण सुरू गरेको छ ।

भक्तपुर नगरपालिकाले शुक्रबार आयोजना गरेको परिचय पत्र वितरण कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुलाई पनि प्राथमिकतामा राखी समान ढंगले हेर्दै आएको उल्लेख गर्नुभयो । उहाँले नगरपालिकाभित्रका सरकारी संघ–संस्था, पोखरीहरु र पार्कहरुलाई अपांगमैत्री बनाउने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।

अपांगता कसैको रहरले हुने होइन भन्नुहुँदै प्रमुख प्रजापतिले जन्म, वंश रदुर्घटनाका कारण भएका अपांगहरुले आफूमा भएका क्षमतालाई फरक ढंगले प्रस्तुत गरी समाजको निम्ति उदाहरणको रुपमा काम गर्न हौसला प्रदान गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख एवम् अपांगता परिचय पत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले भक्तपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको वृत्तिविकासको लागि रु. १५ लाख बजेट विनियोजन गरेको जानकारी गराउनुभयो ।

भक्तपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुको लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, अपांगतता भएका व्यक्तिहरुको लागि आवश्यक सहायक सामग्रीको लागि बजेट व्यवस्थापन तथा ब्रेल लिपी पाठ्यपुस्तक उपलब्धता, घुम्ती शिविर सञ्चालनलगायतका कार्यहरु गर्दै आएको स्पष्ट पार्नुभयो । उहा“ले शारीरिक रुपमा अशक्त व्यक्तिहरुको लागि नेपाल सरकारले अपुग बजेट छुट्याएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारीले राज्यले अपांगता भएका व्यक्तिहरुको समस्या पहिचान गरी उनीहरुलाई क्रियाशील बनाइराख्ने कार्यक्रमहरु ल्याउनु आवश्यक भएको बताउनुभयो ।

 

महानगरीय प्रहरी भक्तपुरका डीएसपी रेवतीरमण रेग्मीले अपांगता भएका व्यक्तिहरुलाई पनि सामान्य व्यक्तिलाई जस्तै व्यवहार गर्नुपर्ने र नागरिकले पाउनुपर्नेपर्ने सुविधाहरु पाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री र कार्यपालिका सदस्य रोशनमैया सुवालले पनि बोल्नुभएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले पूर्ण अशक्त (रातो कार्ड) ६० जनालाई र अति अशक्त (निलो) कार्ड १४५ जना गरी २०५ जनालाई परिचय पत्र वितरण गर्नुभयो । पहेँलो (मध्यम अपांग) र (सेतो) सामान्य अपांग भएकाहरुलाई वडा कार्यालयबाट नै परिचत्रपत्र वितरण गरिनेछ ।