FAQs Complain Problems

News

भक्तपुर नगरपालिकाको आयोजनामा हुने अन्तर नगर कराँते प्रतियोगितासम्बन्धी प्रेस विज्ञप्ति !

पत्रकार साथीहरु,
भक्तपुर नगरपालिकामा हामी जनप्रतिनिधिहरुले पद्‍भार ग्रहण गरेको १ वर्ष ८ महिना बित्यो । २०७४ जेठ ७ गते हामीले जननिर्वाचित प्रतिनिधिको रुपमा पद बहाली गर्‍यौं । यस अवधिमा नगरपालिकाले खेलकुद, वक्‍तृत्वकला, निबन्धलेखन, प्रवचनजस्ता विभिन्न युवा लक्षित कार्यक्रमहरु गर्दै आएको छ ।
युवाहरुलाई विभिन्न विकृतिहरुबाट अलग गरी अनुशासित, देशभक्त र सार्वभौमिकता रक्षा गर्न सक्ने अनुशासित युवाहरु तयार पार्नु आजको आवश्यकता हो । यही विषयलाई ध्यानमा राखेर भक्तपुर नगरपालिकाले खेलकुद क्षेत्रलाई जोड दिइरहेको छ । नगरपालिकाले फूटबल, भलिबल, बक्सिङ, कराँते, टेबुलटेनिस खेलका नियमित प्रशिक्षण दिंदै आएकोमा २०७५ माघ महिनादेखि जिम्नेष्टिकको प्रशिक्षण सुरु गरेको छ । खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु तयार गरी भक्तपुरको मात्रै होइन देशको नाम संसारभर चिनाउन पनि हाम्रो उद्देश्य हो ।
निर्वाचनको बेला हामीले प्रत्येक वर्ष एउटा खेलको अन्तर नगर खेलकुद प्रतियोगिता गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौं । निर्वाचन घोषणापत्रमार्फत् व्यक्त प्रतिबद्धतालाई गत वर्षदेखि नै कार्यान्वयन सुरु गर्‍यौं । देशभरबाट ६ वटा प्रदेशको प्रतिनिधित्व रहेको उक्त प्रतियोगितामा २१ वटा नगरपालिकाहरुको सहभागिता थियो । त्यसैगरी यो वर्ष अन्तर नगर करा“ते प्रतियोगिता गर्ने निर्णय गरेका छौं ।
प्रतियोगिताबारे विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरुलाई जानकारी दिने र सहभागिताको लागि आग्रह गर्ने उद्देश्यले भनपाका जनप्रतिनिधिहरु देशका विभिन्न नगरपालिकामा पुग्नुभयो । पूर्वका सर्लाही, सिराहा, धनुषा, महोत्तरी, सप्तरी, मोरङ, सुनसरीलगायतका जिल्लाहरु र पश्चिममा चितवन, रुपन्देही, बाँके, बर्दिया, कैलाली, अछाम, सुर्खेत, दैलेख, जुम्ला, कालीकोटलगायतका जिल्लाहरुमा पुगेर प्रतियोगिताको प्रचारप्रसार गर्नुका साथै जनप्रतिनिधिहरुसँग भेटघाट गरी निमन्त्रणा दियौं । सो अवसरमा भक्तपुर नगरपालिकामा भइरहेको शिक्षा, स्वास्थ्य, विकास निर्माणका कार्यहरुको उहाँहरुलाई जानकारी गराउनुका साथै जनप्रतिनिधिहरुबीच विचार आदानप्रदान गरियो । धेरै नगरपालिकाले आफूहरु सहभागी हुन इच्छुक भएको बताए भने कतिपयले प्राविधिक कारणले उपस्थित हुन समस्या हुने जानकारी दिनुभयो ।
विद्यालय तहदेखि नै खेलकुद गतिविधि बढाउने उद्देश्यले २०७४ कार्तिक ९ गतेदेखि १४ गतेसम्म अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न गर्‍यौं । विभिन्न ८ वटा खेल विधाहरुको प्रतियोगिता आयोजना गरेकोमा कुल ३८ वटा विद्यालयको सहभागिता रहेको थियो । २०७५ साल कार्तिक ११ देखि १७ गतेसम्म सञ्चालन भएको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा १३ वटा खलकुदको प्रतियोगिता आयोजना गरिएकोमा ७० वटा विद्यालयका १८१८ भन्दा बढी विद्यार्थीहरुको सहभागिता थियो । खेलकुदलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राख्दै आएको छ ।
भक्तपुर नगरपालिकाले यही २०७५ फागुन ५ गतेदेखि ८ गतेसम्म अन्तर नगर कराँते प्रतियोगिता गर्ने निर्णय गरेको हो । २०७५ कार्तिक ११ गतेदेखि १७ गते सम्पन्न अन्तर विद्यालय खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमको दिन नगर प्रमुख सुनिल प्रजापतिले यो वर्ष अन्तर नगर कराँते प्रतियोगिता गर्ने भनी घोषणा गर्नुभएको थियो । त्यसलाई साकार पार्न भनपा अन्तर्गत गठित युवा तथा खेलकुद समितिले त्यसको तयारी अगाडि बढायो । २०७५ साल पुस १६ गते बसेको बोर्ड बैठकले नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १२५ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो भने प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न निम्न १३ वटा समितिहरु गठन गरी जिम्मेवारी बाँडफाँट गरियो ।
१) प्रमुख सुनिल प्रजापतिको संयोजकमा १२५ जना मूल समिति
२) प्रतियोगिता संचालन समिति
३) समारोह तथा पुरस्कार व्यवस्थापन समिति
४) कार्यक्रम तथा समारोह समिति
५) खेलमैदान समिति
६) अनुशासन समिति
७) निर्णायक समिति
८) यातायात तथा बास व्यवस्थापन समिति
९) प्रचार समिति
१०) स्वयम्सेवक परिचालन समिति
११) प्राथमिक उपचार समिति
१२) जलपान समिति
१३) अतिथि सत्कार समिति

मित्रहरु,
खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ नागरिक तयार गर्न र सार्वभौमिकता रक्षा गर्ने देशभक्त नागरिक तयार गर्न, धुमपान, मद्यपान तथा लागुपदार्थको कुलतबाट युवाहरुलाई बचाउने उद्देश्यले नगरपालिकाले खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको हो ।
खेलाडीहरुको उत्साह बढाउन भक्तपुर नगरपालिकाले जिल्लाभरिका राष्ट्रिय खेलहरुमा पदक प्राप्त गर्ने तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी, वर्षको उत्कृष्ट खेलाडी, रेफ्री र प्रशिक्षकहरुलाई सम्मान कार्यक्रम गर्दै आएका छौं ।
खेलकुदको स्तर वृद्धि गर्न नगरभित्र उपलब्ध सहिद स्मृति खेल मैदान र महेश्वरी खेलमैदानको व्यवस्थित विकासको योजना तयारी भइरहेको छ ।
अन्तमा, भक्तपुर नगरपालिकाको आयोजनमा २०७५ फागुन ५ गतेदेखि ८ गतेसम्म हुने अन्तर नगर करा“ते प्रतियोगिताको समाचार प्रचारप्रसार गरी सहयोग गर्नुहुन सम्पूर्ण पत्रकारहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

भक्तपुर नगरपालिका