FAQs Complain Problems

News

आजबाट अन्तर नगर कराँतप्रतियोगिता सुरू

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सहिद दिवसको उपलक्ष्यमा आइतबारबाट अन्तर नगर कराँते प्रतियोेगिता सुरु भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले देशको स्वतन्त्रता र सार्वभौमिकता रक्षा गर्न खेलकुदले महŒवपूर्ण भूमिका खेल्ने बताउनुहुँदै नयाँ पुस्ताका विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराई अनुशासन र मितव्ययी ढंगले खेल प्रदर्शनको निम्ति प्रेरित गर्नुपर्ने बताउनुभयो ।

उहाँले खेलकुद क्षेत्रमा व्याप्त भ्रष्टाचार तथा अनियमितताबारे संघर्षको आवश्यकता औंल्याउनुहुँदै खेलाडीहरूलाई अनुशासनमा बसी नियमानुसार खेल प्रदर्शन गर्न र आफ्नो प्रदर्शनलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्न मार्गनिर्देशन गर्नुभयो ।
खेललाई हार–जित भन्दा पनि स्वस्थ प्रतिस्पर्धाको रुपमा अगाडि बढाउनुपर्ने र खेलाडीहरूको वृति विकासको निम्ति राज्यले आवश्यक योगदान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल मजदुर किसान पार्टी प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाइँले प्रदेश सरकार र केन्द्र सरकारले भ्रष्टाचार, लुटपाट, कमिसनखोर र कालाबजारीको पक्षमा काम गरिरहेको बताउनुभयो । देशमा बढिरहेको हिंसा, लुटपाट र बलात्कारका घटनाका कारण नेपाली जनताले असुरक्षाको अनुभव गरिरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले खेल प्रतियोगिता आयोजना गरी खेल क्षेत्रलाई अगाडि बढाई नयाँ पुस्ताका विद्यार्थीहरूलाई खेलाडीको रुपमा विकास गर्ने र देशको सार्वभौमिकता रक्षा गर्ने उत्साहित युवा तयार गर्ने पक्षमा काम गरिरहेको सांसद गोसाइँले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनताको आधारभूत आवश्यकताका कुरालाई प्राथमिकतामा राखेको बताउनुहुँदै देशकै सानो नगरपालिका भए पनि व्यवस्थित र नुमना नगरको रुपमा कार्य गर्दै आएको बताउनुभयो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुर नगरपालिकाले आफ्ना योजना तथा कार्यक्रम सबै क्षेत्र र विधालाई एकीकृत रुपमा प्राथमिकता राखेको बताउनुहुँदै अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार गर्ने कार्य प्रशंसनीय भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्याम कृष्ण खत्रीले खेलकुदले वर्गशत्रुसँग लड्न सक्ने क्षमता विकास गर्ने र योग्य तथा अनुशासित खेलाडी तयार गर्ने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको बताउनुभयो ।

अन्तर नगर कराँते प्रतियोगिताको उद्घाटन समारोहमा भक्तपुर नपा वडा नं. ७ का वडाअध्यक्ष उकेश कवां र वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

उद्घाटन समारोहमा खेललाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न खेलाडीको तर्फबाट रुक्सना दुवाल र रेफ्रीको तर्फबाट राधिका द्यौलाले सपथ ग्रहण गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले प्रतियोगितामा सहभागी विभिन्न नपाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गर्नुभएको थियो साथै खेललाई औपचारिक रुपमा सुरु गर्न प्रमुख अतिथि बिजुक्छेँले अन्तर्राष्ट्रिय रेफ्री राजन चित्रकारलाई खेलकुद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

अन्तरनगर कराँते प्रतियोगितामा पाँचखाल नपा, धुलिखेल नपा, पैनौती नपा, बनेपा नपा, काठमाडौं महानपा, ललितपुर महानपा, चन्द्रागिरी नपा, तार्केश्वर नपा, सुर्याविनायक नपा, चाँगुनारायण नपा, मध्यपुर नपा, धनकुटा नपा, वीरगञ्ज उपमहानपा, तुल्सीपुर नपा–दाङ, वीरेन्द्रनगर नपा–सुर्खेत, सुर्योदय नपा–इलाम, गोकर्णेश्वर नपा–काठमाडौं, बार्‍हबिसे नपा–सिन्धुपाल्चोक, महालक्ष्मी नपा–काठमाडौं, बेलौरी नपा–कञ्चनपुर, गोदावरी नपा–कैलाली, नागार्जुन नपा–काठमाडौं र भक्तपुर नपा गरी २३ वटा नगरपालिकाहरूले सहभागिता जनाएको आयोजक समितिले जनाएको छ ।

 

फागुन ५–७ गतेसम्म सञ्चालन हुने अन्तर नगर कराँते प्रतियोगिताको उद्घाटन र्‍याली भनपा वडा नं. ९ दत्तात्रयबाट सुरु भई गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो हुँदै सहिदस्मृति खेल मैदानमा आई सभामा परिणत भएको थियो ।

उद्‍घाटन र्‍यालीमा भनपा वडा नं. २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले बोल्नुभएको थियो ।