FAQs Complain Problems

News

नगर क्षेत्रमा शान्ति सुरक्षा, भारी गाडी निषेध तथा ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रम

भक्तपुर नगर क्षेत्रमा शान्ति सुरक्षा, भारी गाडी निषेध तथा ट्राफिक व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा बोल्नुहुँदै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगर शान्ति सुरक्षाको हिसाबले क्रमशः जोखिमयुक्त बन्दै गएको बताउनुभयो ।
उहाँले विभिन्न अपराधिक गतिविधि सँगसँगै लागु औषधको दुव्र्यसनी बढ्दै जानु चिन्ताजनक भएको बताउनुहुँदै समाजमा रहेका समुदायका नगारिकहरु सचेत भई स्थानीय प्रशासन तथा नगरपालिकाको समन्वय, सहकार्य र सहयोगबाट भक्तपुर नगरलाई सुरक्षित नगर बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले नगरभित्र भारी सवारी साधन निषेध गर्ने, कमजोर सडक निर्माण गर्ने ठेकेदारलाई कारवाही गर्ने, सडक किनारामा सामान बेचबिखन गर्ने व्यवसायीलाई कारवाही गर्ने, सम्पदा क्षेत्रमा सवारी साधन पार्किङमा रोक लगाउने विनियमहरु बनाई कार्यान्वयन गर्ने भन्नुहुँदै नागरिकहरुको चेतनास्तर बढाउने कार्यलाई सरोकारवाला निकायहरुको पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।

भक्तपुर नगरको सुन्दरता कायम गर्न अव्यवस्थित तार व्यवस्थापन, पार्किङ स्थलहरु निर्माण तथा नगरभित्र दुव्र्यसनी लगायत कुलतमा फसेका १६ वर्ष मुनिका बालबालिकाहरुको लागि सुधार गृह स्थापनका लागि समन्वय र सहकार्य गर्न नगरपालिका तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सामाजिक अपराधका घटनाहरुलाई कम गर्दै जनतालाई सुरक्षाको प्रत्याभूति गराई जिल्लाभित्र शान्ति सुरक्षा कायम गर्र्न स्थानीय तहहरुले संस्थागत रुपमा छाता निकायको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुहुँदै स्थानीय सरकारसँगको समन्वय र सहकार्य मा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन व्यवस्थित र सहज हुने बताउनुभयो ।

कार्यक्रममा प्रहरी उपरिक्षक सबिन प्रधानले सडक सुरक्षा सम्बन्धमा प्रस्तुतिकरण गर्नुहुँदै समुदाय–प्रहरी सहकार्यबाट नगरभित्र हुने अपराध न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहज हुने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार लम्सालले नागरिकताका बर्तमान अवस्थाका सम्बन्धमा स्थानीय तहका पदाधिकारीहरुसँग प्रस्तुति गर्नुहुँदै छलफल एवं अन्तरक्रिया गर्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

 

 

 

 

 

 

 

उक्त छलफलबाट  भक्तपुर नगरपालिकाको पुरानो नगर क्षेत्रभित्र ट्रिपर लगायत भारी सवारी साधन निषेध गर्ने र मिनि ट्रिपरलगायत मझौला सवारी साधन निश्चित समय बेलुका ६:०० बजेदेखि विहान ८:०० बजेसम्म संचालन गर्न दिने, भक्पुर नगरपालिकाको पुरानो सम्पदा बस्तीभित्र भारी सवारी साधन संचालन निरुत्साहित गर्न सरोकारवालाहरुसँग छलफल गर्दै जाने, च्याम्हासिंह ध्वाकादेखि भार्वाचो हुँदै खाैमासम्मको मूल स८क र सम्पदा क्षेत्र वरिपरि सवारी साधनहरुको पार्किङ्ग क्रमश: निषेध गर्दै जाने, भक्तपुर नगरपालिका क्षाेत्रभित्र उपयुक्त ठाउँहरुको पहिचान गरी पार्किङ्ग व्यवस्था गर्ने र त्यसका लागि वडा कार्यालयले सरोकारवालासँग छलफल गरी ब्यवस्था गर्ने साथनै नगरका विभिन्न स्थानहरुमा आवश्यकता अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरी बस स्टपहरु निर्माण गर्ने लगायतका निर्णयहरु गरेको थियो ।