News
हनुमन्ते खोला करिडोर व्यवस्थापन सम्बन्धी छलफल
भक्तपुर, श्रावण ३१ गते बिहिबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भ.न.पा.का जनप्रतिनिधिहरु र अधिकार सम्पन्न बागमती परियोजनाका पदाधिकारीहरु बीच हनुमन्ते खोला करिडोर व्यवस्थापन सम्बन्धी छलफल सम्पन्न भयो । छलफलमा प्रमुख प्रजापतिले परियोजना कार्यान्वयन गर्न पूर्व जनप्रतिनिधिहरुलाई परियोजना सम्बन्धी प्रस्तुती गरी स्पष्ट पार्न सकिएमा कार्य क्षेत्रमा सम्भावित बाधा अड्चन कम हुने बताउनु भयो । परियोजनाको योजना तयार पार्दा हालको स्थलगत अवस्था र २०२१ सालको नापी नक्सालाई समेत मध्ये नजर गरी मापदण्डबाट मर्का पनें जग्गा धनी किसानहरु पहिचान गरी उनीहरुका समस्या सम्बोधन हुने गरी तयार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । जग्गा उपयोगको योजनाहरु तयार पार्दा जग्गा कारोवारीहरुले व्यक्तिगत फाइदाको निम्ति विभिन्न चलखेल हुनसक्ने हुंदा सो विषयमा सचेत हुनुपर्नेमा जोड दिनुभयो । परियोजनासंग सम्बन्धित सवै संघ-संस्थाहरुवीच समन्वय गरी सहकार्य गर्न सकेमा योजना कार्यान्वयन सरल हुने विचार व्यक्त गर्नुभयो ।
अधिकार सम्पन्न बागमती परियोजनाका प्रमुख आशिष घिमिरेले इवामुरा अस्पतालसंगैको पुलदेखि राधेराधेसम्मको हनुमन्ते खोलाको दुवै पति २०-२० मिटरको मापदण्डमा सडक हरियाली व्यवस्था गरी २०२१ सालको नापीनक्सा अनुसार खोलाको बहाव क्षेत्र कायम गरी योजना कार्यान्वयन गर्न टेन्डर आह्वान गरी स्वीकृत समेत भईसकेको जानकारी गराउनु भयो । उक्त योजना कार्यान्वयनको लागि सम्बन्धित जनप्रतिनिधिहरुलाई निकट भविष्य मै प्रस्तुति तयार गरी पेश गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।
छलफलमा उपप्रमुख रजनी जोशी, वडाअध्यक्षहरु उकेश कवां, रविन्द्र ज्याख्व, श्यामकृष्ण खत्री, राजकृष्ण गोरा, हरि प्रसाद बासुकला, प्रेम गोपाल कर्माचार्य, भनपाका प्रमुख प्रशासकीय अधिकृत रोहितराज पोखरेल, ई. रामगोविन्द श्रेष्ठ, ई. श्रीकृष्ण न्याईच्याई, परियोजनाका ई. रमेश प्रधानाङ्ग, योगन्द्र चित्रकार र रेशम बहादुर खत्रीको समेत उपस्थिति थियो ।