News
भनपा प्रमुख लगायत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, रक्षा मन्त्रालय र शिक्षा मन्त्रालयमा पनि भेटघाट
भक्तपुर नगरपालिकाले जग्गा धनी र मोहीबीच जग्गा बांडफांडको म्याद थप गर्न अनुरोध सहित सोमबार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्र बुझायो। नगर प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा गएको टोलीले मन्त्री पदमा कुमारी अर्याललाई भेटी उक्त पत्र बुझाएको हो।
मन्त्रालयको जग्गामाथि द्वैध स्वामित्व अन्त्य गर्ने उद्देश्यले भाद्र ४ गतेसम्म अन्तिम म्याद दिई जग्गाधनी र मोहीबीच जग्गा बांडफांडको निवेदन दर्ता गर्न सुचना दिएकोमा अझै पनि जग्गा बांडफांड गर्न बांकी धेरै रहेको उल्लेख गर्दै नगरपालिकाले म्याद थप गरेमा वास्तविक किसानहरु लाभान्वित हुनेमा जोड दिएको हो।
'विभिन्न कारणले अझै पनि जग्गा बांडफांडको निवेदन दिन नसकेकाहरु धेरै संख्यामा छन्,' प्रमुख प्रजापतिले भन्नुभयो - 'पुर्खौदेखि जग्गा जोतिरहेका किसानहरुले जग्गामाथिको स्वामित्व पाउनुपर्छ ।'
जग्गा जोत्ने वास्तविक मोहीको जग्गामाथिको अधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गर्दे प्रमुख प्रजापतिले मन्त्रालयले जनताको हितमा जग्गा बांडफांडको निवेदन दिने म्याद थप गर्ने विश्वास व्यक्त गर्नुभयो।
जवाफमा मन्त्री अर्यालले किसानको पक्षमा नगरपालिकाले अगुवाई गरेकोमा खुशी व्यक्त गर्दै म्याद थप सम्बन्धमा अाफु सकारात्मक रहेको जानकारी गराउनु भयो।
प्रमुख प्रजापतिको नेतुत्वमा गएको टोलीमा वडाअध्यक्षहरु रविन्द्र ज्याख्व र उकेश कवां सहभागी हुनुहुन्थ्यो ।
टोलीले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, रक्षा मन्त्रालय र शिक्षा मन्त्रालयमा पनि भेटघाट गरेको स्रोतले जानकारी दियो।