News
भनपाद्वारा स्थानिय पाठ्यक्रम प्रवोधिकरण एवं अभिमुखिकरण कार्यक्रममा भक्तपुर नगरका विभिन्न विधालयका प्रिन्सीपल एवं प्रधानाध्यापकहरुलाई स्थानिय पाठ्यक्रमबारे जानकारी दिनुहुदै भनपाका प्रमुख सुनिल प्रजापति २०७५।०१।३१
भक्तपुर ।
भक्तपुर नगरपालिकाले तयार गरेको विद्यालय शिक्षा आधारभूत तहको स्थानीय पाठ्यक्रमको विषयमा नगरभित्रका विद्यालयका प्रधानाध्यापकहरुबीच बैशाख ३१ गते सोमबार प्रवोधिकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नयाँ पुस्तालाई भक्तपुरको इतिहास, कला, संस्कृति र जनजीवनबारे जानकारी दिने उद्देश्यले नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको बताउनुभयो ।
विद्यालय शिक्षाको अधिकार स्थानीय तहलाई आएपछि भक्तपुर नगरपालिकाले पहिलिो प्रयास स्वरुप पाठ्यक्रम तयार गरेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरुलाई पढाउँदै जाँदा समयानुकूल सुझावहरु आएमा परिमार्जन गर्दै जाने बताउनुभयो । उहाँले अन्य कक्षाहरुको पाठ्यक्रम पनि तयार गर्दै जाने स्पष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले नेपालको संविधानमा आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्यका साथै माध्यमिक तहको शिक्षा निःशुल्क हुने उल्लेख भएपनि संघीय सरकारले शिक्षा क्षेत्रमा क्रमशः बजेट कम गर्दै गएबाट दोहोरो चरित्र प्रदर्शन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संघीय सरकारले उचित श्रोतको व्यवस्था गरेमा विद्यालय शिक्षा निःशुल्क गर्ने भक्तपुर नै पहिलो नगरपालिका बन्ने निश्चित छ ।’ भक्तपुर नगरपालिकाले अहिले नै सातवटा शैक्षिक संस्थाहरुमार्फत विभिन्न विषयहरुमा स्नातकोत्तर तहसम्मको अध्यापन गराउँदै आएको चर्चा गर्दै उहाँले सरकारले विधेयक पास गरेमा ख्वप विश्वविद्यालय संचालन गर्ने क्षमता रहेको प्रष्ट पार्नुभयो ।
नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि अनेक बहानाबाजी गरेर स्थानीय तहको अधिकार कुण्ठित गर्न खोजिएको प्रति सचेत भएको प्रमुख प्रजापतिको कथन थियो । उहाँले शिक्षा, स्वास्थ्य उपचार, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रहरुमा भक्तपुरलाई देशकै नमूना बनाउने लक्ष्य सहितको अभियानमा रचनात्मक सहयोग गर्न प्रवुद्ध व्यक्तिहरुलाई आग्रह गर्नुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले भक्तपुरको रैथाने ज्ञान र प्रविधिलाई संरक्षण गर्न र लोप हुन लागेका सिपलाई पुर्नजीवन दिन स्थानीय पाठ्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाठ्यक्रम विकास केन्द्रसंग समन्वय गरेर बनाइएको चर्चा गर्दै व्यवस्थित ढाँचामा विद्यार्थीको मूल्यांकन गर्ने विधिसमेत उल्लेख गरेको जानकारी दिनुभयो ।
नगरपालिकाबाट तयार गरिएको स्थानीय पाठ्यक्रमबारे प्रवोधिकरण गर्दै प्राध्यापक सिद्धिरत्न शाक्यले कार्यदलले शिक्षकहरुलाई विषयवस्तु पढाउन सजिलो बनाउने उद्देश्यले सरल ढंगबाट पाठ्यक्रम बनाइएको बताउनुभयो । उहाँले पाठ्यपुस्तकविना पनि सन्दर्भ सामग्री, स्थलगत भ्रमण र स्थानीय व्यक्तिहरुबीच अन्तरसम्वाद गरेर सहजै पढाउन सकिने प्रष्ट पार्नुभयो । भक्तपुरको स्थानीय मौलिकता र विशेषता पढाउनुपर्ने भएकोले सकभर स्थानीय शिक्षकले नै पढाएमा राम्रो हुने उल्लेख गर्दै उहाँले शिक्षकले मेहनत गरेमा विद्यार्थीहरु लाभान्वित हुने बताउनुभयो ।
कार्यदलका सदस्यहरु उद्धव सुजखू र रोशनराज तुइतुईले स्थानीय पाठ्यक्रमलाई यसै शैक्षिक सत्रदेखि कक्षा १ र कक्षा ६ मा लागू गरिने र यसका लागि विषय शिक्षकहरुलाई जेठको दोश्रो हप्तामा अभिमुखीकरण गर्ने बताउनुभयो । स्थानीय पाठ्यक्रम सय पूर्णांकको हुने प्रत्येक विद्यालयले हप्तामा ४ पिरियड पढाउनुपर्ने उहाँहरुको भनाइ थियो ।
नगरपालिकाले स्थानीय शिक्षासेवीहरुको भेलाबाट २०७४ माघ २३ गते एक कार्यदल गठन गरी स्थानीय पाठ्यक्रम निर्माण गर्ने जिम्मेवारी दिएको थियो । कार्यदलले सरोकारवाला शिक्षक, प्रअ, अभिभावक, शिक्षाविद् एवं स्थानीय विज्ञहरुसंग अन्तरक्रिया तथा स्थलगत अध्ययन गरी पाठ्यक्रम तयार गरी २०७५ बैशाख २ गते एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।
पाठ्यक्रम नगरका ९२ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कक्षा १ र ६ मा यसै शैक्षिक सत्रदेखि लागू हुने छ । कक्षा १ मा निरन्तर मूल्यांकन पद्दति र कक्षा ६ मा सैद्धान्तिक तथा प्रयोगात्मक परीक्षाद्वारा विद्यार्थीको मूल्यांकन गरिने कार्यदल स्रोतले बताएको छ ।