News
भक्तपुरको दरवारक्षेत्रस्थित ऐतिहासिक न्ह्यकं झ्यः दरवार (राष्ट्रिय कला संग्रहालय रहेको भवन र लाल बैठक) पुनः निर्माणसम्बन्धि बैठक
भक्तपुरको दरवारक्षेत्रस्थित ऐतिहासिक न्ह्यकं झ्यः दरवार (राष्ट्रिय कला संग्रहालय रहेको भवन र लाल बैठक) पुनः निर्माणसम्बन्धि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, संस्कृति, पर्यटन तथा नागरिक उद्देयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच मंगलबार बैठक सम्पन्न भयो ।
बैठकले दरवारसंग सम्बन्धित ऐतिहासिक प्रमाणहरुको आधारमा मल्लकालीन शैलीमा नै पुनः निर्माण गर्न युनेस्कोको प्रधान कार्यालय पेरिसमा अनुमतिका लागि पुरातत्व विभागमार्फत अनुरोध पत्र पठाउने निर्णय ग¥यो । हाल दरवारको आधा भाग मल्लकालीन शैलीमा तथा बाँकी आधा भाग युरोपेली शैलीमा निर्माण गरिएको छ । राणा शासन कालमा दरवारको पूर्वी आधा भागलाई युरोपेली शैलीमा पुनः निर्माण गरिएको थियो ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेको उक्त दरवार पुनः निर्माणका लागि पुरातत्व विभागले ठेक्का समेत दिइसकेको अवस्थामा नगरपालिकाले विश्व सम्पदा क्षेत्रमा रहेको ऐतिहासिक दरवारलाई मल्लकालीन शैलीमा नै निर्माण गर्नुपर्ने धारणा राखेको थियो । नगरपालिकाले दरवारका ऐतिहासिक प्रमाण तथा चित्रहरु संकलन गरी सम्पदाकै रुपमा संरक्षण गर्न विस्तृत नक्सा डिजाइनसहित विज्ञहरुबीच छलफल गरेको थियो । छलफल र अध्ययनको निचोड अनुसार दरवारको सम्पूर्ण भाग मल्लकालीन शैलीमा पुनः निर्माण गर्न मन्त्रालय र विभाग सहमत भएको थियो ।
युनेस्कोबाट अनुमति प्राप्त भएपछि दरवार पुनः निर्माणको लागि विनियोजित बजेट नगरपालिकाको बैंक खातामा जम्मा गरी नगरपालिका र पुरातत्व विभागको संयुक्त पहलमा उपभोक्ता समितिमार्फत उक्त दरवार पुनः निर्माण गरिने विषयमा सकारात्मक छलफल भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुरको सम्पदा संरक्षण कार्यमा ठेक्कापट्टा प्रकृया प्रत्युत्पादक भएको विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै प्रमुख प्रजापतिले स्थानीय जनताको सहभागितामा उपभोक्ता समितिमार्फत गरिएका निर्माणहरु बलियो, भरपर्दो, टिकाउ र कम लागतमा बनेको उल्लेख गर्नुभयो । ‘भक्तपुरमा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण गर्नुपर्नेमा मन्त्रालय पनि सकारात्मक छ’, उहाँले भन्नुभयो ।
प्रसिद्ध पचपन्न भ्mयाले दरवार भक्तपुर नगरपालिका र पुरातत्व विभागले संयुक्त रुपमा उपभोक्ता समितिमार्फत पुनः निर्माण गरिएको र २०७२ को विनाशकारी भूकम्पमा समेत कुनै क्षति नपुगेको प्रमुख प्रजापतिको भनाइ थियो । उहाँले ठेक्कामा बनाइएका सम्पदाहरु सम्पन्न भएको महिनादिन नपुग्दै चिरा पर्न थालेको र कच्चा भएको जनगुनासो रहेको चर्चा गर्दै भक्तपुरबासीहरु सम्पदा संरक्षणमा जागरुक र सचेत भएको बताउनुभयो ।
मंगलबारको बैठकले दरवार क्षेत्रस्थित मालती चोकको पश्चिम तर्फको भवन पुरातत्व विभागमार्फत टेण्डर गरी पुनः निर्माण समेत भइरहेको हुँदा अहिले पुनः निर्माण भइरहेको भाग मात्र टेण्डर मार्फत गराउने र बाँकी भाग नगरपालिकामार्फत पुनः निर्माण गराउने निर्णय समेत भएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
बैठकमा नगरपालिकाको तर्फबाट वडाध्यक्षहरु रविन्द्र ज्याख्व र उकेश कवां, सम्पदा शाखा प्रमुख आर्किटेक्ट रामगोविन्द श्रेष्ठ र प्रशासन प्रमुख अम्बिका धौभडेल उपस्थित थिए । त्यस्तै मन्त्रालय तथा पुरातत्व विभागको तर्फबाट डिभिजन इन्जिनियर सम्पत घिमिरे, राष्ट्रिय कला संग्रहालयका प्रमुख सरस्वती सिंह, स्मारक संरक्षण तथा दरवार हेरचाह प्रमुख मोहनसिं लामा, इन्जिनियर मोहन कृष्ण श्रेष्ठ, अधिकृतहरु प्रतिमा रञ्जित र राम प्रसाद कँडेल सहभागी थिए ।