News
नगरप्रमुख प्रजापतिसंग प्रमुख सेनानीको भेटघाट
भक्तपुर, श्रावण ३१ गते बिहिबार ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग भक्तपुर सैनिक आवासीय महाविद्यालयका प्रमुख सेनानी (सम्पर्क अधिकृत) देव वहादुर क्षेत्रीले भेट गर्नुभयो । भेटमा प्रमुख प्रजापतिले भक्तपुरको रानी पोखरीको पुनःनिर्माण र व्यवस्थापनको लागि भक्तपुर नगरपालिकाले नक्सा डिजाईनको कामको तयारी गरिरहेको बताउनु भयो । उहाँले रानीपोखरी र त्यसको वरपर प्रजापति समुदाय र अन्य विभिन्न समुदायका जनताले वर्षेनी देवाली पूजा गर्दै आएको हुंदा रानीपोखरीको पुनःनिर्माणले सुन्दरता बढ्नेछ भन्नुभयो । न.पा.का प्राविधिकहरुलाई आवश्यक सहयोग गर्न वहाँले प्रमुख सेनानीलाई ध्यानाकर्षण गर्नुभयो । सिद्धपोखरी उत्तरको खेलमैदानलाई विगतमा जस्तै विहान ६ः०० बजे देखि ९ः०० बजेसम्म फुटबल प्रशिक्षणको लागि खुल्ला गर्ने २०५५ साल असार ४ गते वलाधिकृत रथी प्रज्वल शम्शेर राणासंग भएको सम्झौता कार्यान्वयनमा जोड दिनुभयो ।
छलफलमा सैनिकको स्वामित्वमा रहेको च्वड्डा गणेशदेखि भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालको सीमासम्मको ५८४ रोपनीे क्षेत्रका स्थानीय जनताहरुको आस्था र संस्कृतिसंग जोडिएका च्वड्डा गणेश क्षेत्र रानीपोखरी क्षेत्रलगायतलाई सार्वजनिक कायम गर्नुपर्नेमा जोड दिनुभयो । मन्दिर र पोखरी क्षेत्रको सैनिकको स्वामित्वमा रहेको जग्गा सार्वजनिक कायम गर्न नीतिगत निर्णय गर्नुपर्ने भएकोले रक्षा मन्त्रालयसंग आवश्यक सल्लाह भईरहेको प्रमुख प्रजापतिले जानकारी गराउनु भयो ।
छलफलमा प्रमुख सेनानी क्षेत्रीले सम्पर्क अधिकृतको हैसियतले आफू प्रस्तावप्रति सकारात्म रहेको र प्राप्त सुझाव र पत्रको व्यहोरालाई सम्बन्धित माथिल्लो निकायमा पुयाएर खबर गर्ने बताउनु भयो ।