News
जर्मन राजदुत भनपामा
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका केही सम्पदाहरु निर्माणका लागि जर्मन विकास बैंक केएफडब्ल्यूले सहयोग गर्ने प्रतिवद्धताबाट जर्मन पक्ष पछि हट्ने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसंग नेपालका लागि जर्मन राजदुत रोलाण्ड शेफरले सोमबार भेट गर्ने क्रममा केएफडब्ल्यूमार्फत हुने सहयोग हाललाई बन्द हुने तर भक्तपुरको विकास र सम्पदा संरक्षणको लागि अन्य उपयुक्त माध्यमबाट जर्मन सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा उपभोक्ता समितिमार्फत सम्पदा संरक्षण र विकास निर्माणको कार्य भइरहेको बताउनुभयो । उपभोक्ता समितिमार्फत कार्य हुँदा संरचना बलियो हुने, संरचनाप्रति स्थानीय जनताको अपनत्व रहने, स्थानीय जनताले स्वयंसेवी रुपमा श्रमदान गर्ने र कम लागतमा गुणस्तरीय कार्य हुने उहाँको भनाइ थियो । स्थानीय सीप, प्रविधि र परम्परागत निर्माण सामग्री प्रयोग गरी निर्माण गरिएका पांच तले मन्दिर, ५५ झ्याले दरबार, भैरबनाथ मन्दिर लगायत धेरै सम्पदाहरु सयौं वर्षसम्म जस्ताको तस्तै रहेको उल्लेख गर्दै नगरपालिकाले आप्mनै इन्जिनियरिङ कलेज संचालन गरेर नयाँ पुस्तालाई स्थानीय सीप र प्रविधिको प्रयोगबाट बलियो र भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने विषय अध्यापन गराइरहेको बताउनुभयो ।
जर्मन राजदुत शेफरले भक्तपुर नगरपालिका र केएफडब्ल्यूबीच यसअघि आदान प्रदान भएको पत्राचारमा देखिएका परियोजना सञ्चालन सम्बन्धी प्रमुख ३ वटा असमझदारीहरुमध्ये पुजारी मठको पुनः निर्माणमा स्टीलको रड प्रयोग र कंक्रीट ढलान गर्न नहुने, उपभोक्ता समितिमार्फत पुनःनिर्माण कार्य गर्ने, र भक्तपुर दरबारक्षेत्रका ऐतिहासिक सम्पदाहरु पुनः निर्माण गर्दा अन्तर्राष्ट्रिय टेण्डर गर्दा समस्या हुने विषयमा भक्तपुर नगरपालिकाको भावनालाई केएफडब्ल्यूले स्वीकार गर्न नसकेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरका जनताहरुको समर्पणभावको उच्च प्रशंसा गर्दै जनभावनाविपरित आफुहरु नजाने प्रष्ट पार्नुभयो ।
भक्तपुर र जर्मनी सरकारबीच जनस्तरमै प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै राजदुत शेफरले नगरको हितमा कुनै पनि बखत सहयोग गर्न जर्मन सरकार तयार रहेको बताउनुभयो । उहाँले सम्पदा संरक्षणमा भक्तपुरको ज्ञान र प्रविधिबारे भविष्यमा अन्तर्राष्ट्रिय स्तरमै छलफल हुने र त्यसमा जर्मन सरकारको तर्फबाट पनि सहयोग गर्ने अवसर पाउने विश्वास पनि व्यक्त गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले भूकम्पले पीडामा रहेका भक्तपुरबासीहरुलाई सहयोग गर्ने जर्मन सरकार र जर्मन नागरिकहरुलाई नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भक्तपुरको सम्पदा विश्व सम्पदा सूचिमा सुचिकृत भएकोले यसको संरक्षण गर्नु नगरपालिकाको दायित्व भएको प्रष्ट पार्नुभयो ।
भेटमा नगरपालिकाका उपप्रमुख रजनी जोशी, भनपा ९ नं वडा अध्यक्ष रविन्द्र ज्याख्व, ७ नं वडा अध्यक्ष उकेश कवां, पर्यटन अधिकृत दामोदर सुवाल, जर्मन विकास सहयोग प्रमुख क्लाउडिया हिपे, शंकर पाण्डे र टिका ढकालको पनि उपस्थिति रहेको थियो ।